✍ बलराम वालाखाम राई
धरान, धरान पूर्वी नेपालको हरियाली काखमा, धरान उपमहानगरपालिका वडा नं. २० को दक्षिण-पूर्वी छेउमा उभिएको सुलिकोट डाँडा केवल एउटा भूभाग मात्र होइन; यो प्रकृतिको अनुपम कलाकृति हो, इतिहासको मौन गवाही हो र संस्कृति, धर्म र दर्शनको दिव्य संगम हो।
समुद्री सतहबाट करिब १,५२० मिटर उचाइमा रहेको यो डाँडा, अक्षांश २६.८११३° उत्तर र देशान्तर ८७.३०१४° पूर्वमा अवस्थित, धरानको मुकुट झैं टल्किरहेको छ।
मौसम सफा भएको दिन, यहाँबाट देखिने दृश्य कुनै चित्रकारको क्यानभासभन्दा कम छैन।
उत्तरतर्फ आकाशलाई चुमिरहेका हिमालका पाङ्ग्राहरू, विशेषगरी कञ्चनजङ्घाको हिमशृङ्खला, जसको उज्यालो चुलीबाट झरेको सुनौलो प्रकाश मानौं स्वर्गकै झिलिमिली हो।
दक्षिणतर्फ, तराईका हरित खेतहरू र मधेशको अनन्त विस्तार, जहाँ जीवन धर्तीको गहिराइसँग लय मिलाएर बगिरहेको छ।
पूर्वतर्फ, रमणीय चिया बगानहरू, जुन हरियाली सपनाभित्रै लुटपुटिएको जस्तो लाग्छ र पश्चिमतर्फ, विजयपुरको ऐतिहासिक धरातल, जहाँ किरात सभ्यताको गहिरो मूल जरा गाडिएको छ।
यो दृश्यावलीले सुलिकोटलाई केवल डाँडा होइन-धरानकै आत्मा बनाएको छ ।
इतिहास र मिथकको पदचाप:
सुलिकोट डाँडाको माटोमाथि पाइला राख्ने बित्तिकै इतिहासको मौन स्वर सुन्न सकिन्छ। बुढापाकाका कथन र पुरातात्त्विक साक्ष्यहरूले पुष्टि गर्छन्।
यो भूभाग कुनै समय किरात सभ्यताको पवित्र पीठ थियो। यहाँ मनाइने माङ्सेवा, लखेसवा जस्ता पूजापर्वहरू केवल संस्कृतिको अभिन्न अंश मात्र होइनन्; यी परम्पराले किरात दर्शनको मूलभूत मान्यता उजागर गर्छन्-प्रकृति नै देवता हो।
डाँडाको नाम सुलिकोट-कसरी रह्यो? यथार्थ इतिहासबारे जानकारी गुमेको हुनसक्छ, तर मान्यता अनुसार यो डाँडाले अनेकौं युद्ध, अनेकौं सभ्यता र अनगिन्ती प्रार्थनाहरूको मौन गवाही बोकेको छ।
प्रकृतिको विशाल मन्दिर:
यो डाँडाले केवल इतिहासको मौन मात्र होइन, प्रकृतिको कलरव पनि सम्हालेको छ । यहाँका वनस्पति र वन्यजन्तुहरूले यसलाई जैविक विविधताको खजाना बनाएका छन्।
वनस्पति: साल, चिलाउने, सिसौ, अमृसाे र विभिन्न जडीबुटीहरूले ढाकिएको वनस्पतिको हरियाली रहेकाेछ।
वन्यजन्तु: बाँदर, हरिण, बँडेल, कहिलेकाहीँ भालु र दुर्लभ किसिमका जनावर पाईन्छन्।
चराचुरुङ्गी: रिङ्गट, बुलबुल, नीलकण्ठ, भालेसुगा र अनगिन्ती रंगीन चराहरू जसको गीतले डाँडाको मौनतामा संगीत भर्ने गरेकाेछ।
यी सबैले सुलिकोटलाई इको-टुरिज्मको दृष्टिले अत्यन्त महत्त्वपूर्ण बनाएको छ।
सूर्योदयको कविता, सूर्यास्तको गीत:
सुलिकोटको शिखरमा पुग्नेबित्तिकै जीवनले कविता गुनगुनाउँछ।
सूर्योदयको बेला, हिमालको चुलीमा सुनौलो उज्यालो झर्ने क्षण-मानौं प्रकृतिले सुनको माला ओढाएको छ।
सूर्यास्तको बेला, आकाशमा रातो-गुलाबी रंगको तूलिका चल्दा लाग्छ-विश्वका सबै रंगहरू यही क्षणमा समेटिएका छन्।
यही कारण, सुलिकोट डाँडालाई धरानको दृश्यावलोकन केन्द्रको रूपमा विकास गर्ने योजना कुनै कल्पना होइन, यथार्थमा बदलिन तयार भएको सपना हो।

पदमार्ग : सपनाबाट यथार्थतिर-
पदमार्ग निर्माण भएकाे स्थान धार्नेदेखि माथि सुनसरी र धनकुटाकाे सिमानामा पर्दछ जुन भेडेटारकाे डांडा भन्दा उच्च छ।
पदमार्गकाे लम्वाई १,०६० मिटर रहेकाेछ जुन निर्माण सम्पन्न भइसकेकाेछ। धरान उपमहानगरपालिकाबाट रू.२,१०,०००/- विनियाेजन भएकाे र उपभाेक्ता समूह(किरात याक्थुङ चुम्लुङ) काे रू.५०,०००/- गरी रू.२,६०,०००/- रकमबाट १२० मिटर पदमार्ग निर्माण गरिएकाे थियाे।
भने बाँकी ९४० मिटर पदमार्ग स्वेदश तथा विदेशमा रहनु हुने सहयाेगी मनका धनी सहयाेग दाताहरूबाट प्राप्त रकमले यहि भाद्र ०७ गते निर्माण सम्पन्न भएकाे छ।
जुन कार्य पूरा गर्न १४ लाख भन्दा बढी रकम खर्च भइसकेकाे जानकारहरू बताउँछन्। पछिल्लाे जानकारी अनुसार रु.५ हजारभन्दा माथि सहयोग गर्ने दाताहरूको नाम सुनौलो अक्षरमा शिलालेखमा कोरिनेछ-यो केवल सम्मान होइन, भविष्यको इतिहासमा नाम लेखाउने अवशर पनि हो।
तर आवश्यकता अझ धेरै छ...
योजनाबारे प्रचार–प्रसारको कमीले अझै सहयोग जुटाउन कठिनाइ भएको देखिन्छ । नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्दछ। दाताहरूसँग प्रभावकारी सम्पर्क कायम गरिनु अति आवश्यक हुन्छ।
पर्यटन प्रवर्द्धनका लागि होमस्टे, भ्यूटावर , साईनेज तथा पथप्रर्दशक चिन्ह्रकाे व्यवस्था ठूला साईजकाे डष्टविनकाे व्यवस्थापन गरिनु पर्दछ।
खाली रहेकाे जग्गा तथा वन क्षेत्र वरपर वृक्षाराेपण अभियान सञ्चालन गर्नु पर्दछ। वन क्षेत्रकाे जैविक संरक्षण, प्रदुर्षण नियन्त्रण र वायाेडाईर्सिटी घाेषणा गर्नु पर्दछ।
सुलिकाेट डांडाकाे इतिहास, आकर्षक पर्यटन महत्व समेटिएकाे ब्राेसर, डकुमेन्ट्री, वेभसाईट तथा सामाजिक सञ्जाल अभियान सञ्चालन गर्न सकिन्छ।
सरकारी तथा गैर सरकारी साझेदारी पर्यटन महाेत्सव अभियान सञ्चालन गर्न सकिन्छ।
स्थानीय उत्पादन तथा हस्तकला प्रवर्द्वन-स्थानविशेषमा उत्पादित वस्तुहरूकाे विक्री वितरण, खाद्य परिकार जस्ता सामाग्रीहरूकाे पर्यटन बजार विकास गर्न सकिन्छ।
तब भन्नु पर्दैन, सुलिकोट डाँडा केवल धरानकाे मात्र होइन, पूर्वी नेपालको गन्तव्य नक्सामा चम्किने रत्न बन्नेछ।
अन्तिम शब्द : सुलिकोट केवल डाँडा होइन, स्वप्न हो!
धरानको यो पवित्र थलो केवल हरियो वन र खुला आकाशको कुरा होइन; यो हाम्रो संस्कृति, हाम्रो पहिचान र हाम्रो भविष्यको कथा हो।
पदमार्ग निर्माणको सफलतापछि यहाँको पर्यटनले स्थानीय अर्थतन्त्रलाई गति दिनेछ, युवाहरूमाझ रोजगारी सिर्जना गर्नेछ र सबैभन्दा महत्वपूर्ण हाम्राे संस्कृतिको जरा अझ मजबुत बनाउनेछ।
साे पदमार्गका जानकार व्यक्ति श्री मोहन हुक्पा चोङ्गवाङ्गका शब्दमा—
“यो डाँडाको सुन्दरता र ऐतिहासिकता जोगाउन पदमार्ग अत्यन्त जरुरी छ । यसलाई विकास गर्न सबैले हातेमालो गर्नु पर्छ।”
भविष्यकाे सम्भावना:
सुलिकाेट डांडा किरातकालीन इतिहासदेखि प्रसिद्वी पाएकाे स्थान भएकाेले यसलाई नेपालकाे पर्यटकीय स्थलकाे रूपमा विकास गर्न आवश्यक छ।
यस क्षेत्रकाे संरक्षण र विकास स्थानीय, प्रदेश तथा संघीय सरकारहरूले संयुक्त प्रयास गरेमा यसलाई पर्यटन विकासकाे गन्तव्यकाे रूपमा उभ्याउन सकिन्छ।
यसले पर्यटकीय पहिचानकाे संरक्षण गर्नकाे साथसाथै आर्थिक समृद्विकाे मूलद्वार खाेल्न समेत टेवा दिनेछ।
यसर्थ नीति निर्माताहरू याेजना आयाेग, स्थानीय सरकार र नागरिक समाज मिलेर यस क्षेत्रकाे संरक्षण र प्रवर्द्वनमा सामूहिक पहल गर्नु पर्ने आवश्यक देखिन्छ।
सुलिकोट डाँडा अब केवल भूगोलको बिन्दु होइन; यो सांस्कृतिक चेतनाको धरोहर हो । यसलाई बचाउनु, यसको सुन्दरतालाई उजागर गर्नु-हामी सबैको साझा कर्तव्य हो।