धरान, बैशाखे पूर्णिमा वुद्ध जयन्ती र साकेला उभौली चाँड नेपाल तथा विदेशमा नेपालीहरुले हर्षोउल्लासका साथ मनाउँदै छन्।
नेपालमा आज बैशाख शुक्ल पूर्णिमाको अवसरमा बुद्ध धर्मावलम्बीहरूले बुद्ध जयन्ती र किराँत समुदायले साकेला उभौली पर्व धूमधामका साथ मनाइरहेका छन्।
आजको दिन वौद्ध धर्मावलम्बीहरुले वुद्ध जयन्तीको रुपमा मनाउँछन्। उनीहरुले आज संसारमा शान्तिका लागि सष्णिुताको सन्देश दिदै मनाउँछन्।
आजैको दिन अर्थात् बैशाख पूर्णिमा गौतम बुद्धको जन्म, बोधि प्राप्ति, र महापरिनिर्वाण भएको दिन भएकाले उक्त दिनको सम्झनामा बुद्ध जयन्ती मनाइन्छ।
लुम्बिनी, स्वयम्भूनाथ, बौद्धनाथ, र अन्य बौद्धलगायत विभिन्न स्थानमा वौद्ध धर्मावलम्बीहरुले विशेष पूजा, ध्यान, र दान कार्यक्रमहरू आयोजना गरेर मनाउँछन्।
यसैगरी बैशाख पूर्णिमालाई किराँती समुदायको विशेष चाँडको रुपमा मनाउँदछन्। आज किराँती समुदायले साकेला उभौली चाँडको रुपमा प्रकृतिलाई प्रेम, आदर, सम्मान गर्दै कृषिको उत्सवको रुपमा मनाउँने गरेको छ।
किराँत समुदाय, विशेष गरी राई, लिम्बू, सुनुवार, याक्खालगायत जातिहरूद्वारा मनाइने उभौली चाँड बैशाख शुक्ल पूर्णिमादेखि सुरु भई एक महिनासम्म मनाइन्छ।
यस चाँडमा मुन्धुमी सँस्कार अनुसार पुजाआजा गरि ढोल, झ्याम्टा फुकाई किराँत समुदायले परम्परागत भेषभूषामा सजिएर गोलाकार घेरा बनाई ढोल, झ्याम्टा बजाई साकेला नाच नाच्ने गरिन्छ।
यस नाचमा कृषि कार्यहरू जस्तै बाली रोप्ने, गोडमेल गर्ने, अन्न काट्ने आदि क्रियाकलापहरूको अभिनयात्मक सिली प्रस्तुती गरिन्छ।
यसरी, उभौली चाँडले कृषि, प्रकृति, र समुदायको एकताको प्रतीकका रूपमा भूमिका निर्वाह गर्दछ।
साकेला उभौली चाँडमा हरेक वर्ष नेपाल सहित बिदेशमा रहेका नेपालीहरुले विविध कार्यक्रम गरि मनाउने गर्दछन्।
काठमाडौं उपत्यकामा ललितपुरको हात्तीवनस्थित साकेला थानमा किराँत समुदायले सामूहिक पूजा गरि साकेला नाच प्रस्तुत गर्दछन्।
यसैगरी धरानको विजयपुर स्थीत हाङवुद्धिकर्ण राईको दरबार परिषरमा भेला भएर पुजाआजा गरि साकेला नाचेर मनाउँछन्।
यस्तै भोजपुर, खोटाङ, धनकुटा, विराटनगर, र अन्य स्थानहरूमा पनि उभौली पर्व भव्य रूपमा मनाउँछन्।
बैशाखे पूर्णिमाको दिन विभिन्न धार्मिक र सांस्कृतिक पर्वहरू एकै दिनमा मनाइनुले नेपालको सांस्कृतिक विविधता र सहिष्णुताको प्रतीक हो। यसले विभिन्न समुदायहरूबीच आपसी समझदारी, सहकार्य, र एकताको भावना प्रवर्द्धन गर्दछ।