ताप्लेजुङको पवित्र तीर्थस्थल मुकुम्लुङ् अर्थात माता पाथिभरामा केवलकार निर्माणलाई लिएर उत्पन्न विवादले गहिरो सामाजिक चिन्ता ल्याएको छ।
धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अत्यन्त महत्त्वपूर्ण यस स्थानमा हाल देखिएको अशान्ति, हिंसा र जनआक्रोश दुःखद विषय हो। सुरक्षाकर्मी र स्थानीय जनता घाइते हुने स्थिति कुनै पनि हालतमा सकारात्मक संकेत होइन।
विकास र पूर्वाधार निर्माण समाजको प्रगतिका अनिवार्य अङ्ग हुन्। तर, यसाे भन्दैमा कुनै पनि विकास जनभावना विपरीत, असन्तुष्टि र विरोधबीच अघि बढ्नु दीर्घकालीन समाधान होइन।
केवलकार निर्माणको प्रस्तावले धार्मिक, सांस्कृतिक र स्थानीय समुदायका भावना समेट्न नसकेमा त्यसको प्रभाव गहिरो हुनसक्छ। कुनै पनि संरचना बनाउनु मात्र विकास होइन; समाजमा मेलमिलाप, सहमति र दीर्घकालीन सकारात्मक प्रभाव ल्याउनु नै असल विकासको आधार हो।
यस्तो अवस्थामा जिम्मेवार निकायहरूले तत्काल कदम चाल्न आवश्यक छ। विवाद समाधानका लागि खुला संवाद, समावेशी परामर्श र पारदर्शी प्रक्रिया आवश्यक छ। स्थानीय समुदाय, धार्मिक अगुवा, प्रशासन र जनताको समर्थनविना सफल हुन सक्दैन । तसर्थ, निर्माण पक्षले हठ गर्ने होइन, स्थानीय आवाज सुन्ने, बुझ्ने र सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्छ।
यस विषयमा सबै पक्ष सचेत बनौँ, उत्तेजना होइन, बुद्धिमत्ता अपनाऔँ। पाथिभारा केवलकार विवादको समाधान हिंसा र दमनबाट होइन, वार्ता र परामर्शबाट खोजौँ । समाजलाई टुक्राउने होइन, जोड्ने उपाय निकालौँ। यसैमा सबैकाे कल्याण हुनेछ। सबैकाे जय हाेस् । अस्तु।
लेखन: बलराम वालाखाम राई, धरान ।